छठ पर्वको मुख्य दिन आज : दिनभर निरहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ - छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी षष्ठीको उपासना गरी मनाइन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । 

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ। 

२०४६ साल अगाडिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ। २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिन सुरु गरेको थियो। 

छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ। भूकम्प पछिका वर्षझैं यस वर्ष पनि रानीपोखरीमा भने छठीघाट बनाइएको छैन । 

छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही व्रतालु भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।