२१ औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाजवाद २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजनको अन्त्यका लागि समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन् । उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा बढे पनि त्यसको लाभ सीमित धनाढ्य वर्गमा केन्द्रित भएको उल्लेख गरे।