कांग्रेसमा महिला (खुला) क्लष्टरतर्फ तीन पदाधिकारीसहित १८ पद, क-कसले जिते ?
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट यसपटक महिला (खुला) क्लष्टरतर्फ तीन पदाधिकारीसहित १८ नेता चुनिएका छन्। कांग्रेसले पहिलो पटक विधानमै व्यवस्था गरेर उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गरेको छ। १५औँ महाधिवेशनबाट पुष्पा भुसाल निर्विरोध उपसभापति निर्वाचित भएकी छन्। महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्। उनले पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)लाई पराजित गर्दै महामन्त्री भएकी हुन्। महिला क्लष्टरतर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनले नानु बाँस्तोलालाई पराजित गरेकी हुन्। त्यस्तै, खुला महिलातर्फ १५ पदमा वासना थापा सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। उनी प्रतिनिधिसभामा कांग्रेसकी प्रमुख सचेतक समेत हुन्। उनले कुल ५ हजार १९३ मत पाइन्। त्यस्तै, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल, उमा दाहाल र कान्तिका सेजुवाल निर्वाचित भएका छन्।