पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे । उनले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको लेखेका छन् । ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु,’ उनले लेखेका छन् ।