जाजरकोटमा चिसोले हालसम्म ३० जनाको मृत्यु 

 जाजरकोट - गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनु पर्‍यो ।

मंसिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी भइन् । ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, कल्पनाका श्रीमान गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो ९औषधि० गर्नतिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिइन् ।’

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे । ‘सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ’, सुनारले भने । चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको स्वास्थ्यकर्मी बताउँछन् ।