धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

काठमाडौँ - ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको हो । ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ । 

२०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौँ रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित व्यहोरेर बाहिरिएको थियो ।