'शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ' : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भने, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।”

अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताए । प्रधानमन्त्री दाहालले भने, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।”

प्रचण्डले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गरे ।