दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा प्रचण्डको जोड  

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्।

शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, ‘१०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए। रंगशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाइ थियो।