नेपालको वैदेशिकभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताएका हुन् ।
पूर्वमन्त्री पाण्डेले नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको बताए । उनले आन्तरिक ऋणको वृद्धि तीव्र रूपमा बढ्दै गएकाले आगामी दिनमा आन्तरिक ऋण वैदेशिक ऋणभन्दा बढी हुने अवस्था देखिएको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताए ।

पूर्व अर्थमन्त्री पाण्डेले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुवै भइरहेको बताए । उनले चालु आर्थिक वर्ष सरकारका लागि थप चुनौती र जटिलता रहेको बताए । उनले सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताए ।

पूर्व अर्थमन्त्री पाण्डेले नेपालमा भारत र चीनबाट मात्रै ठूलो संख्यामा पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए । उनले मुलुक आर्थिक रूपमा समृद्ध हुन विदेशी मुलुकहरूको सहयोग पनि अपरिहार्य रहेको बताए । पाण्डेले अवसर नदेखेर विदेश जाने युवालाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने बताए ।