मधेसमा जनमतको नेतृत्वमा सरकार गठन गर्न एमाले र माओवादी सहमत

काठमाडौँ - मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तीन दल सहमत भएका छन् । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

‘अहिले हामी तीन दल एमाले, माओवादी र जनमतले सहमतिमा हस्ताक्षर गरेका छौँ । अरु दलका नेताले पनि गर्नु हुन्छ । बहुमत सांसदको हस्ताक्षर भएपछि हामी मुख्यमन्त्रीको दाबी पेश गर्छौं ।’ साहले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि जनमत पार्टीलाई मुख्यमन्त्री बनाउन सहमत भएको बताएका छन् ।