आईसीसी टी-२० विश्वकप छनोट : नेपालको शानदार विजयी सुरूवात

काठमाडौँ - आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए । 

त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो। सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन्।

त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए। उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन्। मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे। नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए।

नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो। अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ ।

विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन् ।  विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिंगापुर र ओमान छन्। त्यस्तै समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् ।