ललितपुरको गोदावरी जङ्गलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल जङ्गलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परि स्थनीय शंकर पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनको उपचारका क्रममा कीर्तिपुर जलन उपचार अस्पतालमा ज्यान गएको एसपी सुवेदीले बताए ।

बडीखेल जङ्गलमा लागेको डढेलो निभाउने क्रममा आज शंकर र रमेश पहरी घाइते भएका थिए । रमेशको अहिले कीर्तिपुर जलन उपचार अस्पतालमै उपचार भइरहेको छ ।

वडा नम्बर ३ को फूलचोकी जङ्गल क्षेत्रबाट शुरु भएको डढेलो फैलिएर वडा नम्बर ४, ५ र ६ मा पुगेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए । डढेलो फैलिएपछि वडा नम्बर ६ को आनन्द वन कुष्ठरोग अस्पताल पनि जोखिममा परेको छ । अस्पतालका ९३ जना बिरामीलाई अन्तै सारिएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीको उपचार हुँदै आएको छ ।

डढेलो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रक तथा चार वटा दमलकसहितको टोली परिचालन गरिएको छ ।