नेकपा एसले १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो ।

अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ । अभियानका क्रममा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए ।

पार्टीको धारणाहरु जनतामा पुर्‍याउने र जनताको विश्वास हासिल गर्ने गरी अभियानको आयोजना गरिएको उनले बताए । अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, बिकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे । त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अन्धधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए ।