डेंगु संक्रमितको संख्या बढ्यो: देशैभर पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु

काठमाडौँ । देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी) ले जनाएको छ ।

दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ ।

यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ ।