खेलाडीको निम्ति आवश्यक पूर्वाधार निर्माणमा सरकारले अधिकतम ध्यान दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका निम्ति भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार महिला भलिबल खेलाडीको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । भलिबललाई एउटा कभर्ड हल आवश्यक रहेको खेलाडी स्वयंले बताइसकेको उनले उल्लेख गरे । सरकारले आवश्यक ध्यान दिई त्यसतर्फ काम गरिरहेको उनले बताए ।

उनले हरेक प्रदेश र जिल्ला-जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीलाई अभ्यास गर्न सहज हुने गरी सरकारले काम अघि बढाइरहेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताए । केही समयअघि भुटानको पारोसँगको खेलमा रंगशालाको अवस्थाले देशको बेइज्जत भएको उनले उल्लेख गरे ।

रंगशालाको आवश्यक निर्माणकार्य उत्कृष्ट ढंगले गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी निर्माण गर्न निर्देशन दिए ।