खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए।

उनले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने बताए। उनले खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि बताए।

उनले भने, ‘विश्वका मुलुकहरुले खेलकुद क्षेत्रको विकास, ठूलो लगानी गरी उच्च प्राथमिकता दिँदै गर्दा नेपाल खेलकुद क्षेत्रमा अझै प्राथमिकता पाउन नसकेको यथार्थ छ। खेलकुदलाई कहिले पनि प्राथमिकता दिइरहेको छैन। त्यसैले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यको तर्फबाट नीतिगत र व्यवहारगत रुपमा लाग्नुपर्छ। खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीतापूर्वक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

मन्त्री चौधरीले खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता जनाए।