पारा ओलम्पिक २०२४ को भव्य उद्घाटन, नेपालबाट तीन खेलाडी

काठमाण्डौँ - पेरिसमा २०२४ को पाराओलम्पिकको एक भव्य समारोहबिच उद्घाटन गरिएको छ । खेलाडीहरुले भव्य परेडसहित पारा ओलम्पिकको उद्घाटन भएको हो । खेलाडीको परेड प्रतिष्ठित च्याम्प्स एलिसेसदेखि प्यालेस डि ला कनकोर्डेसम्म आयोजना भएको थियो ।

ओलम्पिकमा जस्तै पारा ओलम्पिकको उद्घाटनपनि पहिलो पटक पेरिसमा स्टेडियम बाहिर आयोजना गरिएको थियो। मुख्य समारोह सहरको बिचमा गर्मी दिनको साँझमा आयोजना हुँदा दर्शकको भव्य उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार समारोहमा ६५ हजार बढी मानिसहरुले टिकट काटेर पारा ओलम्पिक उद्घाटनको मजा लिएका थिए । ११ दिन आयोजना हुने पाराओलम्पिक आजबाट खेलहरु हुँदै छन् । कीर्तिमानी १ सय ६८ प्रतिनिधि मण्डलबाट लगभग ४ हजार ४०० खेलाडीले २२ पारा ओलम्पिक खेलमा कुल ५ सय ४९ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् ।

पेरिस ओलम्पिक समितिका अध्यक्ष टोनी एस्टानगुएटले भव्य उद्घाटनमा खेलाडीको उत्साहले पारा ओलम्पिकमा नयाँ क्रान्तीको सुरुवात भएको बताए । उनले विश्वको दृष्टिकोण बदल्नका लागि खेलाडीले देखाएको अदम्य साहसको जति प्रसंशा गरेपनि कम हुने बताएका थिए ।

पारा ओलम्पिक कुनै न कुनै रुपमा शारिरिक रुपमा विकालङ्गहरुको सहभागिता रहने गरेको छ। नेपालबाट ३ खेलाडीले यो ओलम्पिकमा सहभागिता जनाएका छन् । तेक्वान्दोकी पलेसा गोवर्दन र भरतसिंह मेहता तथा पौडीका भिमबहादुर कुमालको सहभागिता रहेको छ ।