प्रधानमन्त्रीद्वारा महिला भलिबल खेलाडी र प्रशिक्षकलाई ४७ लाख ६० हजार पुरस्कार

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । 

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए ।