प्रधानमन्त्री ओलीद्धारा महिला भलिबल खेलाडीलाई जनही तीन लाख प्रदान 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई बिहीबार पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख प्रदान गरिएको हो ।

साथै, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको छ ।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।

गत साउन ३१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षक लगायतलाई कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।