विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्न सबै पाठ्यक्रमहरु परिमार्जन गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।

उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागिपरेको बताइन् । उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ ।

मन्त्री भट्टराईले सिटिईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिइन् ।

शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले शिक्षा भनेको ज्ञान मात्रै नभई सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने मन्त्री भट्टराईले बताइन् ।