नाबालिकालाई यौन धन्दामा लगाउने दुई जना प्रहरीको फन्दामा

काठमाडौँ । कम उमेरका बालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।

पक्राउ परेका मध्ये राजु शाही आफै ग्राहक खोज्दै दोहोरी साँझमा जाने गर्थे । उनले ग्राहकलाई भर्खरको केटी छ भन्दै आकर्षित गर्ने गर्थे । उनले दोहोरीमा आएका ग्राहकलाई तरुनी खोजिदिने एजेण्टकै काम गर्थे । आफूलाई दोहोरीको मालिक बताउने उनी कोटेश्वर आकाशे पुलसँगैको घरमा संचालित एक दोहारीमा सधै भेटिने गरेका थिए ।

त्यहाँ आउने हरेक ग्राहकलाई तरुनी मिलाईदिने भन्दै भरखरका बालिकाहरुलाई ग्राहकसँग जबरजस्ती बसाएर मादकपदार्थ समेत सेवन गराउने । उनले भनेको कुरा नमाने नाबालिकाहरुलाई हातपात समेत गर्ने गर्थे ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौँ महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका थिए । घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ ।

प्रहरीका अनुसार उनीहरूलाई आर्थिक अवस्था कमजोर भएका बालिकालाई सरसफाइ तथा भाँडा माझ्ने काम गर्न भनेर गेष्ट हाउसमा ल्याउँथे । उनीहरूलाई कोठामा थुन्थे, अनि सम्पर्कमा आएका ग्राहकसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाउँथे ।

प्रहरीका अनुसार बालिकाहरूलाई प्रतिदिन ६ जनासम्म ग्राहकसँग यौन सम्पर्क गर्न लगाउँथे । प्रतिग्राहक पाँच सय रुपैयाँ दिने भनिए पनि आर्थिक शोषण समेत गर्दै आएका थिए । गेष्ट हाउस बाहिर लैजाने ग्राहकसँग भने उनीहरूले प्रतिरातको आठ हजार रुपैयाँ असुल्ने गरेको पाइएको छ ।