सहकारीको रकम अपचलन गरेर विदेश भाग्ने १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । सहकारीको रकम अपचलन गरेर विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउन सहकारी छानबिन विशेष समितिले निर्देशन दिएको छ ।

आज सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखकसहित गृहसचिव एकनारायाण अर्यालसँगको छलफलपछि देशबाहिर रहेका १८ जनालाई नेपाल फर्काउन निर्देशन दिएको हो ।

बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।

यसैगरि सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उहाँहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन माननीय गृहमन्त्रीलाई आग्रह गरेका छौं’ समिति सभापति सूर्य थापाले भने, ‘उहाँहरूलाई छानबिनको दायरमा ल्याएपछि मात्र छानबिन एउटा निष्कर्षमा पुग्नसक्छ ।’

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ । बैठकमा गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिएको पनि सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।