वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग हुँदै 

काठमाडौँ - नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन वाफ च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्ने छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि शुरु हुने छ ।

नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यसैगरी जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ ।