हमासको नियन्त्रणबाट विपिन जोशी छुटाउन नेपालले इजिप्टलाई पनि गुहार्‍यो

काठमाडौँ - हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन् । जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ । केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो ।

उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको नेपाली अधिकारीहरूले बताएका छन् । नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन् ।  परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताएका छन् ।