'पुराना दलको औचित्य सकियो भन्नेलाई सबै एकै ठाउँ उभिएर जवाफ दिँदैछौं' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताए ।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।