नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

काठमाडौँ - दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे । दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।

खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् । नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो ।