संसदीय समिति निर्वाचन आज : ९ वटा समितिमा स्वतः सभापति घोषणा, उद्योगमा मात्र निर्वाचन

काठमाडौँ - ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको सभापति निर्वाचन आज सोमबार हुँदैछ । १० वटै विषय समिति सभापतिको निर्वाचन दिउँसो ३ बजेका लागि निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार हिजो आइतबार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीकातर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी छ ।

यसैगरी, अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।