रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने

मन्त्रालयले थप रासायनिक मल खरीदका लागि स्रोत सुनिश्चितता गरेको हो। रासायनिक मल खरीदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएको छ।

स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने मन्त्रालयले जनाएको छ।

रासायनिक मल खरीद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। तर, यो रकमले नपुगेपछि रासायनिक मल खरीदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो।

रासायनिक मल खरीद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले रासायनिक मल खरीदका लागि स्रोतको समस्या नहुने बताएका थिए।

पछिल्ला वर्षहरूमा खेतीपातीको समयमा किसानले रासायनिक मलको अभाव झेल्दै आएका छन्। पर्याप्त बजेट व्यवस्था नहुने, रकम भए पनि ठेकेदारका कारण समयमै मल आपूर्ति नहुने जस्ता समस्याका कारण मल अभाव हुँदै आएको छ।