पतनशील पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका खाइयो : बाबुराम भट्टराई

काठमाडौँ - नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पतनशील पुराना शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा पोस्ट गर्दै उनले यस्तो निष्कर्ष निकालेका हुन् ।

उनले आइन्सटाइनको उदाहरण दिँदै भनेका छन्, ‘कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचारसहितको ‘नयाँ शक्ति’को आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका छन् ।

‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘परन्तु बीचबीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन । केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ ।’

अध्यक्ष भट्टराईले भनेका छन्, ‘पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस् ! पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभईसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन् ।’