स्वास्थ्य क्षेत्रमा रहेका समस्या हटाउन निरन्तर काम गरिरहेको छु : मन्त्री पौडेल  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको र सरकार ती समस्याहरू हटाउने गरी निरन्तर काम गरिरहेको बताएका छन्।

सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए। उनले अस्पतालहरुमध्येमा प्रसूति तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए।

मन्त्री पौडेलले अहिलेको साधन स्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताए। उनले उपलब्ध साधनस्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताए। नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सीमित रहेको पनि बताए।