सरकारको कुल बेरूजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो !

काठमाडौँ - सरकारको हालसम्मको कुल बेरूजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगायतका बिषयमा जानकारी गराउँदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरी ६ हजार बढी निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताए ।

कुल बेरुजुमध्ये अद्यावधिक बेरुजु पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रहेको उनले जानकारी दिए ।