दुई अध्यक्षको भागवण्डा मिलेन : आर्थिक क्षेत्रका मुख्य पदमै छैनन् नियुक्ति !

काठमाडौँ - नेकपा एमाले र मोओबादी केन्द्रका अध्यक्षहरुबीच बागबण्डा नटुंगिँदा वित्तीय क्षेत्रका कम्पनी र नियामक नेपाल धितोपत्र बोर्ड समेत नेतृत्व बिहिन भएको छ । 

गत पुस २० देखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढेको भए पनि त्योे टुंगोमा पुग्न सकेको छैन । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सलाई निकै चासोपूर्वक हेरिएको बेला सेबोन अध्यक्षमा दुबै दलको दाबेदारी देखिएको छ ।

यसबारेमा अर्थ मन्त्रालयमा अनौपचारिक छलफल हुँदा मन्त्री वर्षमान पुनले सचिवालयलाई ‘त्यसबारे चासो नलिन’ आग्रह गरेका थिए ।
नियुक्तिका सम्बन्धमा दुई अध्यक्ष मिलेर टुंग्याउनुपर्ने भने पनि त्यससम्बन्धमा हालसम्म कुनै छलफल हुन नसकेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले बताए ।

‘कतिपय संस्थाहरुमा अहिले नै पद रिक्त भइसकेको छ । सेबोनमात्रै होइन, नेपाल पुनर्बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पनि नियुक्ति प्रक्रिया अघि बढेका छन्, तर टुंगिन सकेका छैनन् । 

यी पदहरुमा एमाले र माओबादीले नै आफ्ना मान्छे नियुक्त गर्ने भए पनि कुन दलले कति पदमा नियुक्त गर्ने भन्ने स्पष्ट भएको छैन । कुन संस्थामा कुन दलले नियुक्त गर्ने भन्ने टुंगो नलागेसम्म यी निकायहरु अझै केही समय नेतृत्व विहिन हालतमै गुज्रिनुपर्ने भएको छ ।