अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत

सुर्खेत - दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ। सात महिनामा आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो।

३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २९१ रुपियाँ खर्च भएको छ। अघिल्लो वर्षको भुक्तानी दिन बाँकी रकम यो वर्षमा भुक्तानी गरेपछि मात्र विकास बजेट खर्च भएको भोलुम बढेको देखिन्छ।

अघिल्लो वर्षको झण्डै ३० प्रतिशतभन्दा बढी रकम भुक्तानी बाँकी रहेको थियो। विकासे कार्यालयले अझैँ यो आर्थिक वर्षको विनियोजित रकमबाट आएका योजनाहरु सम्झौता गर्न बाँकी रहेको देखिएको छ। हिमाली जिल्लाका कर्मचारीहरु कार्यालयमा नहुँदा सम्झौता हुन नसकेको हो।

मन्त्रालयबाट कति योजना सम्झौता भए, कति भएनन् भनि सोधिएको पत्रको जवाफ समेत जिल्ला कार्यालयले नपठाएको मन्त्रालयका सचिवहरुले समीक्षा कार्यक्रममा समेत गुनासो गरेका छन्। मन्त्रालयले पत्र पठाइरहने, जिल्ला कार्यालयले जवाफ नपठाउँदा आफूहरु हैरान भएको एक मन्त्रालयका सचिवले बताएका छन्।

चालुतर्फ २२ दशमलव २५ प्रतिशत र पुँजीगतमा १२ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको हो । चालूतर्फको १३ अर्ब १६ करोड ५६ लाख ३८ हजार बजेटमध्ये दुई अर्ब ९२ करोड ८८ लाख ५१ हजार नौ सय ८७ रुपियाँ खर्च भएको छ ।

यो अवधिमा विकास बजेट खर्चको अवस्था झनै निराशाजनक छ। पुँजीगततर्फ १९ अर्ब ४५ करोड पाँच लाख २४ हजार बजेट विनियोजन गरेकामा दुई अर्ब ३९ करोड ६९ लाख ९४ हजार ३०४ रुपियाँ खर्च भएको छ।