टेकनाथ रिजालले २४ दिनपछि बुझाए १५ लाख धरौटी, बुधबार मात्रै छुट्ने

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन् ।
उनले अदालतको आदेशको २४ दिनमा बल्ल धरौटी बुझाएका हुन् । रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसअघि धरौटी बुझाउन नसक्ने बताएपछि उनी कारागारमुक्त हुन सकेका थिएनन् । उनले आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएका हुन् । उनलाई बुझबार रिहा गर्ने तयारी भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

‘हिजो धरौटी बुझाएको भनेर पत्र आएको थियो । त्यसपछि हामीले सम्पत्ति शुद्धीकरणमा पठाएका थियौं,’ जेलर बस्नेतले भने, ‘तर अबेर भएकाले हिजो काम सकिएन । अब पर्सी मात्रै छुट्नु हुन्छ ।’सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन् । रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।