यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधि

काठमाडौँ - नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो। तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे।