लगानीकर्तालाई ठूलो धक्का, सेयर बजारमा गिरावट   

काठमाडौँ । बढ्दो क्रममा रहेको सेयर बजारमा आइतबार लगानीकर्तालाई ठूलो धक्का लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।

आज कारोबार खुल्ना साथ सूचक बढे पनि त्यसपछि भने निरन्तर घटेको हो । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

२४४ कम्पनीको सेयर किनबेच भएको बजारमा आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच (डिभेन्चर र मिचुअल फन्ट) बाहेकको सेयर किनबेच भएको छ ।

गत बिहीबारको तुलनामा कारोबार रकम सामान्य बढी भए पनि यसअघिको उच्च कारोबारबाट भने करिब एक तिहाइले कम हो ।

असार ३१ गते २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको थियो । तीव्र रुपले खस्किएको बजारमा आइतबार लघुवित्त कम्पनीमा ठूलो वृद्धि देखिएको छ ।

आइतबार अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्य बढ्दा वीन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने ६० कम्पनीका सेयर लगानी कर्ताले धेरथोर कमाएका छन् ।

उता मन्दाकिनी हाइड्रो पावरको ९.९१ प्रतिशत मूल्य घटेको बजारमा १८४ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ९ प्रतिशत लाभांश घोषणा गरेको अपी पावरको आइतबार सबैभन्दा धेरै (८४ करोड ६८ लाख रुपैयाँ) स्यर किनबेच भएको छ ।