डेंगी संक्रमित एक बालकको कान्ति बाल अस्पतालमा मृत्यु, संक्रमितको संख्या पाँच हजार नाघ्यो

काठमाडौँ । काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार गराइरहेका डेंगी संक्रमित एक बालकको मृत्यु भएको छ । 

यसअघि तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिलाको मृत्यु भएको थियो । ईडीसीडीका अुनसार जनवरीयता २३ अगष्टसम्म देशभर पाँच हजार ११९ जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार १८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवनमा ४६८, काठमाडौँमा ४२१, कास्कीमा ४०८, पर्वतमा २७२, गोरखामा १७७, झापामा १५५ र मकवानपुरमा १०४ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।