छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौँ - सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ।  कानूनमन्त्री पदम गिरीले शनिबार अपराह्न ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएका हुन् । 

सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन् । भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन् ।  

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार छानविन समितिमा कांग्रेस रविको नाम नराख्न तयार भएको छ । तर, गोर्खा मिडिया नेटवर्कका एमडीमाथि छानविन हुनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ ।