देशको योजना छनोटमा सरकार चुक्यो  : माधव नेपाल  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्। बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन्।

उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताए। उनले हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।

उनले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्ने कुरामा हुनुपर्ने बताए। उनले समस्याहरुको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताए। उनले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको जिकिर गरे।

उनले भने, ‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन् ? त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ कि छैनौँ। यो जम्मै पक्षहरुमा जसरी हामीले अझै  ध्यान दिनुपर्ने हो, अझै पुगेको छैन कि जस्तो लागेको छ। हामी हचुवा पाराले काम गर्छौं। देशभरका जति पनि ७४३ वटा पालिका छन्। एकैपटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ। जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउनेरु यसमा प्राथमिकीकरणको कमी छ।

पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताए। उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए। उनले सिँचाइको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले निर्यात प्रवद्र्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताए।