आजदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना  

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र मधेस प्रदेशका एकरदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।