स्वदेशमा फर्केर अवसरको सिर्जना गर्न अमेरिकामा रहेका युवालाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  अमेरिकामा रहेका नेपाली युवालाई स्वदेश फर्केर अवसरको सिर्जना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले यस्तो अनुरोध गरेका हुन् ।

नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्किनेको क्रम पनि बढेको दाबी गरे।

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाविना मुलुकले रूपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरे।

‘नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन। बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ। भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ। त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ।’  ‘नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन। समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ’, उनले भने।