कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

काठमाडौँ - कोशी प्रदेश सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको अन्तिम किनारा सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ ।

उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए । कार्कीले दायर गरेको उक्त रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

आइतबार पेसीमा परेर पनि हेर्न नभ्याइनेमा परेको उक्त रिटमा सोमबार सुनुवाइ भएको थियो । सोमबार रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा पठाउनुपर्ने माग गरेका थिए । इजलासका न्यायाधीशहरुले पनि संवैधानिक इजलासमा पठाउने विषयमा छलफल गरेका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठले संवैधानिक ब्याख्या आवश्यक रहेको भन्दै सम्वैधानिक इजलासमा पठाउनेबारेमा राय माग गरेका थिए । न्यायाधीश श्रेष्ठको रायलाई महान्यायाधीवक्ता दिनमणी पोखरेलले पनि सहमति जनाएका थिए ।

मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ ।