दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ? 

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन । 
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम छ ।