रामेछापको सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना, १५ जना घाइते दुईको अवस्था गम्भिर

काठमाडौँ ।  रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधवार दिउँसो खाँडादेवी–४ त्रिवेणीबाट घर फर्किएका मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो सोही वडाको सान्नेफेदी भन्ने स्थानमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गुडिरहेको बोलेरो अचानक ब्याक भई सडकमा पल्टिदा घाइते भएका १५ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बनाइएको छ । अहिले घाइते सबैको सदरमुकाम मन्थली स्थित मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ । बोलेरो चालक मन्थली नगरपालिका–७ भटौलीको मुगिटारका ३६ वर्षका अरुण माझी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।