शक्तिका आडमा बन्द गरिएका भ्रष्टाचारका फाइल खोल्ने कांग्रेसलक्षित रविको चेतावनी

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले राजीनामा माग्नुको कारणबारे आफू जानकार रहेको भन्दै शक्तिका आडमा बन्द गरिएका भ्रष्टाचारका फाइल खोल्ने चेतावनी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछानेले इलामको मंगलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपचुनावलगत्तै रोकिएका अनुसन्धान अघि बढाउने बताए।

‘धुलो लागेको फाइल टकटक्याउँदै छ भन्ने थाहा पाएर तपाईंहरूले राजीनामा माग्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ। पख्नुस् आउँछ राजीनामा। दुईचारवटा काम गर्न दिनुस् चाँडै नै।’ लामिछानेले भने, ‘चुनाव अगाडि भ्याइन्थ्यो कि भन्ने थियो, भ्याइएन। तर चिन्ता गर्नुपर्दैन। अहिले धेरै भन्न मिल्दैन, आचारसंहिता लाग्छ। चुनाव सकियोस् मलाई राम्रोसँग थाहा छ। न तपाईंहरू कसलाई कारबाही गरेको हेर्न चाहनुहुन्छ। मलाई राम्ररी थाहा छ। कुन–कुन फाइल अनुसन्धान गर्दा गर्दै बन्द गरिए। अनुसन्धान गरिएका प्रहरीलाई कहाँ सारियो सबैलाई थाहै छ।’

सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदमा लामिछानेको राजीनामालाई प्रमुख माग बनाएर अवरोध गर्दै आएको थियो।

‘कांग्रेसले आफ्नो सरकार हुँदा यसलाई कसरी फसाउन सकिन्छ भनेर अनुसन्धान गरे। केही पनि नभेटेपछि चुपचाप मिडियाबाजी गर्न थाले। अनि सरकारबाट बाहिरिएपछि राजीनामा दे भन्न थाले।’ लामिछानेले भने, ‘राजीनामा हामीसँग माग्नुपर्दैन। काम गर्न नसकेको र नपाएको दिन तत्काल राजीनामा दिने छाती छ हामीसँग।’

उनले नयाँ कानुन बनाएर सहकारी ठगीमा संलग्नको सम्पत्ति कब्जा गरी बेचबिखन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रयास भइरहेको बताए।