आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौं महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।

नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको बताएका छन्।

यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उनको भनाइ छ।

नेता खनालले लामो समयदेखि जनताको संघर्षघबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताए।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म गरिने नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ।