दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा अमिर  

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका थिए । 

कतारका अमिर फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौँ आइपुगेका थिए । काठमाडौँ आएलगत्तै कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

कतारका अमिरले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान अन वान भेटवार्ता गरेका थिए । त्यसपछि दुवैको उपस्थितिमा नेपाल–कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक बसेको थियो । 

होटेल सोल्टीमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।