निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

काठमाण्डौँ - झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् ।  भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् । 

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जिलिङ र विहारको किसनगञ्ज जिल्लामा यही वैशाख १४ गते एकै दिन हुँदै छ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् ।