नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू- भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३४ मिनेट र सूर्यास्त साँझ ६ बजेर १ मिनेटमा हुनेछ ।