पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।